काठमाडौं - आज बिहान फिलिपिन्सको दक्षिणी प्रान्तको नजिकै समुद्रमा ७.६ शक्तिशाली भूकम्प गएको छ।
भुकम्मपपछि अधिकारीहरूले नजिकका तटीय प्रान्तका बासिन्दालाई सुनामीको सम्भावनाका कारण तत्काल सुरक्षित स्थानमा सर्न आदेश दिएका छन्।
राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सम्भावित क्षतिको मूल्याङ्कन भइरहेको र उद्धार तथा राहत टोलीहरू तयारी अवस्थामा रहेको बताएका छन्। यी टोलीहरू सुरक्षित भएपछि प्रभावित क्षेत्रमा पठाइनेछन्।
फिलिपिन्सको ज्वालामुखी विज्ञान र भूकम्प विज्ञान संस्थानले भूकम्पको कारण क्षति र परकम्प हुने अपेक्षा व्यक्त गरेको छ। यो भूकम्प दवाओ ओरिएन्टल प्रान्तको मानाय सहरदेखि करिब ६२ किलोमिटर टाढा समुद्रमा केन्द्रित थियो। जसको गहिराइ मात्र १० किलोमिटर थियो ।
दवाओ सहरमा करिब ५.४ मिलियन जन संख्या रहेको छ । यो सहर भूकम्प केन्द्रबाट करिब २५० किलोमिटर पश्चिममा अवस्थित छ।
भूकम्प केन्द्रबाट ३०० किलोमिटर (१८६ माइल) भित्रका क्षेत्रमा खतरनाक छालहरू उठ्न सक्ने होनोलुलुस्थित प्यासिफिक सुनामी चेतावनी केन्द्रले जनाएको छ । केही फिलिपिन्सका तटीय भागहरूमा सामान्य ज्वारभाटाभन्दा ३ मिटर (१० फिट)सम्म उच्च छाल आउने सम्भावना छ भने इन्डोनेसिया र पलाउका किनारहरूमा साना छालहरू देखिन सक्ने चेतावनी दिइएको छ।
फिलिपिन्सको सिविल डिफेन्स कार्यालयका उपप्रशासक बेर्नार्डो राफाएलिटो अलेजान्द्रो चौंथाले चेतावनी दिँदै भने “दवाओ ओरिएन्टलदेखि नजिकका ६ तटीय प्रान्तहरूमा भूकम्प गएको २ घण्टाभित्र सुनामी लहर पुग्न सक्छ।” उनले मानिसहरुलाई तत्काल उच्च स्थान वा तटीय क्षेत्रदेखि टाढा जान आग्रह गरे।
उनले थपे, “हामी ती तटीय समुदायलाई सचेत रहन र अर्को सूचना नआएसम्म उच्च स्थानमा बस्न आग्रह गर्छौं।”
त्यसैगरी उनले नौका मालिकहरूलाई पनि आफ्नो डुंगा सुरक्षित गर्न र किनाराबाट टाढा सार्न निर्देशन दिएका छन् ।
इन्डोनेसियाली अधिकारीहरूले पनि पपुआ र उत्तर सुलावेसीका पूर्वोत्तर क्षेत्रहरूका लागि सुनामी चेतावनी जारी गरेका छन्। इन्डोनेसियाको मौसम, जलवायु र भू-भौतिक विज्ञान एजेन्सीले वक्तव्य जारी गर्दै त्यहाँका बासिन्दालाई समुद्र तट र नदी किनारहरूबाट टाढा रहन चेतावनी दिएको छ।



0 comment