काठमाडौ— बाल विकास समाजले सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई शैक्षिक सामग्री झोला, कापी, कलम पेन्सील, लगायतका आवश्यक सामग्री वितरण गरेको हो । संस्थाले छात्रवृत्ति कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो । संस्थाले आफ्नै आन्तरिक स्रातबाट खर्च जुटाएर सामुदायिक विद्यालयमा अध्ययन गर्ने निम्न वर्गीय बालबालिकाहरुलाई छात्रवृत्ति अन्तर्गत शैक्षिक सहयोग गर्दै आइरहेको छ । 
संस्थाले हरेक वर्ष सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई गर्दै आएको शैक्षिक सहयोगमा यो वर्ष विभिन्न ५ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने ८५ जना बालबालिकालाई सहयोग गरेको हो । संस्थाले निम्न वर्गीय बालबालिकाहरु शैक्षिक अवसरबाट बन्चित नहुन भन्ने उद्देश्यबाट यो सहयोग गरिरहेको छ । संस्थाको सहयोगमा अहिलेसम्म १ सय ७७ जना बालबालिकाले एस इ इ पास गरिसकेका छन । 
मन भयो भने आर्थिक जुटाउन समस्या नहुने र इमान्दारिता, पारदर्शीता र जवाफदेहिताको सवाललाई प्रमुखताका साथ अबलम्बन गर्न सकियो भने आर्थिक सहायता गर्ने धेरै शुभचिन्तकहरु जुटाउन सकिने संस्थाका कार्य समिति सदस्य रामशरण रिमालले बताए । संस्थाले विशेषगरी संस्थाका कार्यसमिति पदाधिकारी संस्थाका आजीवन सदस्य विभिन्न महिला समुह बैंक शुभचिन्तक समाजसेवीहरुबाट आर्थिक संकलन गरी उक्त सहयोग गर्ने गरेको छ । 
शैक्षिक अवसरबाट पछाडी परेका पारिएका बालबालिकाहरुलाई आगामी वर्षहरुमा पनि शैक्षिक सहयोग गरिरहने संस्थाले जनाएको छ । त्यसैगरी यो छात्रवृत्ति सहयोग संस्थागत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उपलब्ध नगराउने गरिएको संस्थाको भनाई छ । शैक्षिक सामग्री वितरण कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी, विद्यालयमा प्रधानाध्यापक, शिक्षक, बालबालिकाको बाक्लो उपस्थिती रहेको थियो ।