काठमाडौं - नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आज सम्पन्न भएको छ। महाधिवेशनबाट पार्टी नेतृत्वमा रहेको ७० वर्षको उमेर हद र अध्यक्षमा दुई कार्यकालको सीमा हटाइएको छ। यससँगै ओलीलाई फेरि अध्यक्ष बन्ने वैधानिक बाटो खुलेको छ।
प्रतिवेदन पारित गर्नुअघि समूहगत छलफलमा उठेका प्रश्नहरूको जवाफ अध्यक्ष केपी ओलीले झन्डै दुई घण्टा लामो सम्बोधनमार्फत दिएका थिए। आइतबार आयोजित अन्तिम सत्रमा प्रतिवेदन प्रस्तुतकर्ताहरूले समूहगत सुझावको जवाफ दिएपछि प्रतिवेदनहरू पारित गरिएको हो।
महाधिवेशनले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनसहित सबै प्रतिवेदन पारित गरेको हो।
महाधिवेशनमा विद्यादेवी भण्डारीको सदस्यता नविकरणबारे भने कुनै निर्णय गरिएको छैन ।
महाधिवेशनमा देशभरका सातवटै प्रदेशबाट समूहगत छलफल भएका थिए, जसमा अधिकांश नेताहरूले ओली नेतृत्वको समर्थन गरेका थिए। समापनसँगै एमालेको दोस्रो विधान महाधिवेशन सम्पन्न भएको हो।


0 comment