काठमाडौं - नेपाल आयल निगमले डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । पेट्रोल तथा खाना बनाउने ग्यास (एलपीजी) को मूल्य यथावत् राखेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल/मट्टितेल लिटरमा ४ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ घटाउने निगम सञ्चालक समितिले निर्णय गरेको छ ।
निगमद्वारा आइतबार जारी विज्ञप्तिअनुसार हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी ७ डलर घटेको छ । साथै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेकइभन पोइन्ट (बराबर मूल्य) बिक्री मूल्य कायम गरिएको छ ।
पेट्रोल र खाना पकाउने ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागु हुनेछ ।


0 comment