काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो कात्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि रुपन्देही क्षेत्र नं. ३ बाट डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार बसेको पार्टी सचिवालयको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

रास्वपाले उम्मेदवार चयनका लागि करिब दुई महिनासम्म सञ्चालन गरिएको ‘प्राइमरी इलेक्सन’ प्रणालीबाट ९ जना आकांक्षीमध्येबाट डा. थापालाई छानिएको जनाएको छ। पार्टीले साउन ७ गतेदेखि सुरु भएको उम्मेदवार छनोट प्रक्रिया विभिन्न आठ चरण पार गर्दै भदौ १५ गते टुंग्याएको हो।

आइतबार काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीले डा. थापालाई रुपन्देही–३ का लागि आधिकारिक उम्मेदवारका रूपमा घोषणा गरेको हो। रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी) का अनुसार उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, लोकतान्त्रिक र समावेशी भएको छ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ अञ्चलपुरमा जन्मिएका डा. लेखजंग थापा वरिष्ठ न्युरोलोजिस्ट, अभियन्ता र सामाजिक व्यक्तित्वका रूपमा परिचित छन्।