काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलब दिने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत बिहीबार उनले यस्तो घोषणा गरेका हुन् । उनले अनलाइनमार्फत सरकारी सेवा विस्तार गर्ने उद्देश्यले सरकारले यस्तो व्यवस्था गरेको जानकारी दिए ।

‘सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसबाट अनलाइनमार्फत सरकारी सेवा विस्तार गर्दा काममा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुनेछ भने सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिनेछ ।’

उनले यस्तो व्यवस्थाले सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउने पनि बताएका छन् । ‘यसले सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउनेछ । आईटी पढेको हाम्रो जनशक्तिका लागि यो सुखद् कदम हो,’ उनले लेखेका छन् ।