काठमाडौं - सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले अब नासु (नायब सुब्बा) र सहसचिव पदमा खुला विज्ञापन नहुने स्पष्ट पारिन्।

उनका अनुसार सरकारी सेवामा सबै पद खुला गर्दा कर्मचारीहरू कार्य सम्पादनभन्दा लोकसेवा परीक्षाको तयारीमै बढी केन्द्रित हुने हुँदा यस्तो निर्णय आवश्यक भएको हो।

शुक्रबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री न्यौपानेले आफ्नो पछिल्लो धारणा सार्वजनिक गर्दै भनिन्, ‘खरिदार र नासु तहमा समान योग्यता भएकाले दुवैमा खुला विज्ञापन गर्दा कर्मचारीहरूको ध्यान नासु तहको परीक्षातर्फ मोडिने देखिन्छ।’

मन्त्री न्यौपानेले खुला विज्ञापन सबै तहमा राख्दा सरकारी कर्मचारी कार्यालय उपस्थित भएर पनि पढाइतर्फ मात्रै केन्द्रित हुने प्रवृत्ति देखिएको उल्लेख गर्दै भनिन्, ‘यस्तो अभ्यासले सरकारको सेवा प्रवाहमा नकारात्मक असर पारेको छ।’

उनका अनुसार, नासु र सहसचिव तहमा अब पदपूर्ति कार्य अनुभव र आन्तरिक मूल्याङ्कनको आधारमा हुने भएकाले यो विधेयकले कर्मचारीहरूको निरन्तर सेवा विकास र दक्षता वृद्धिमा योगदान पुर्‍याउनेछ।

संघीय निजामती सेवा विधेयक : के के छन् प्रस्तावहरू?

प्रतिनिधिसभाबाट पारित भइसकेको संघीय निजामती सेवा सम्बन्धी विधेयक अनुसार अब नायब सुब्बा (नासु) र सहसचिव तहमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति नहुने छ। ती पदहरूमा अब आन्तरिक बढुवा प्रणालीमार्फत मात्र पदपूर्ति हुने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ।

यस्ता छन् बुँदाहरू:

नासु तहमा अब खुला विज्ञापन हुनेछैन, खरिदार तहबाट आन्तरिक बढुवामार्फत पदपूर्ति हुनेछ।

सहसचिव तहमा पनि अब खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने छैन।

उपसचिव पदमा भने १० प्रतिशतसम्म खुला विज्ञापनमार्फत प्रतिस्पर्धा गर्न सकिने व्यवस्था गरिएको छ।

शाखा अधिकृत पदमा प्रवेश गर्न भने खुला प्रतिस्पर्धा कायम नै रहनेछ।

उपसचिवमा प्रतिस्पर्धा गर्न शाखा अधिकृत भएको सात वर्ष पूरा भएको हुनुपर्नेछ।

विधेयकको यस व्यवस्थाले सार्वजनिक सेवामा इच्छुक उमेदवारहरूबीच चासो र बहस बढाएको छ।