काठमाडौं - उपसभामुख इन्दिरा रानालाई हटाउने कांग्रेस र एमालेको तयारीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख जस्तो जिम्मेवार पदमाथि गरिएको अवमूल्यन लोकतन्त्रकै लागि खतरा भएको टिप्पणी गरे।
उनले बालुवाटार र सिंहदरबारमा भएको प्रदर्शनले संसद्को गरिमामा चोट पुर्याएको भन्दै आलोचना गरे। कार्यपालिका र दलहरूको यस्तो कदमले संवैधानिक निकाय र व्यवस्थापिकामाथि निरन्तर आक्रमण भइरहेको भन्दै अब टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए।
परियारले कांग्रेसलाई बीपी कोइरालाको आदर्श र एमालेलाई मदन भण्डारीको दृष्टिकोण सम्झन आग्रह गर्दै जनजाति महिलामाथि देखिएको असम्मानप्रति आपत्ति जनाए। सांसदहरूको विवेक बन्धक नबनाउन पनि उनले चेतावनी दिएका छन्।


0 comment