काठमाडौं - उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी अन्तिम चरणमा पुगे पनि कांग्रेस र एमालेले प्रस्ताव दर्ता रोकेको छ।
आज दिउँसो १ बजे प्रस्ताव दर्ता गर्ने तयारी भए पनि रानामगर हाल अमेरिकामा रहेकाले प्रक्रिया अघि बढाउन समय अभाव हुने देखिएको हो।
संविधान अनुसार प्रस्ताव दर्तापछि एक साताभित्र प्रक्रिया अघि बढ्नुपर्ने प्रावधान छ। रानामगर १३ भदौमा मात्र फर्किने कार्यक्रम रहेकाले प्रक्रिया अगाडि बढाउन सक्ने अवस्था छैन। यसअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच उपसभामुख हटाउने सहमति भएको थियो।
२६ फेब्रुअरी २०२३ मा उपसभामुख रानामगरले ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७औं सत्रमा भाग लिन जाने क्रममा पाँच जना उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनप्रसाद गुरुङका लागि अन्तर्वार्ता अघि सार्न अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।
‘महिलासँग सम्बन्धित कार्यक्रममा उपसभामुखले किन पुरुष छानेर पठाउन खोजिन् ?’भन्ने उनीमाथि गम्भीर प्रश्न पनि उठेको छ। पदको दुरुपयोग गरी भिसाका लागि सिफारिसपत्र लेखेको आरोप लागेको छ।
उनलाई महाअभियोग लगाउन खोज्नु यी त कारणमात्रै हुन् । तर, उनी उपसभामुख हुन अघिको पार्टी रास्वपाले भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि संसद अवरुद्ध गर्दै आएपछि कांग्रेस एमालेले रास्वपालाई तह लगाउन पनि यो विषयलाई उठान गरेको कतिपयले विश्लेषण गरेका छन् ।
स्रोतका अनुसार उपसभामुखमाथि महाअभियोग कुरा उठिसकेकाले संसद्को अवरोध हटाउने कुरामा रास्वपा लचक भएको खण्डमा पनि कुरामिल्न सक्ने अवस्था देखिन्छ ।


0 comment