काठमाडौं - नेकपा एकीकृत समाजवादीले उपसभामुखबाट इन्दिरा रानालाई हटाउने प्रक्रिया सहभागी नहुने भएको छ ।

एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले उपसभामुखलाई हटाउन खोजे त्यसको विरोध गर्ने बताए । प्रतिपक्षीको बेन्चमा रहेको समाजवादीका १० जना सांसद रहेका छन् ।

प्रतिनिधि सभा नियमावलीको नियम २१० मा सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको पाइए महाअभियोग लगाएर हटाउने व्यवस्था छ ।

प्रतिनिधिसभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाई सदस्यको समर्थन प्राप्त गरी पदबाट हटाउन हस्ताक्षरसहित माग गर्दै प्रस्ताव लैजान सकिन्छ । २७५ सदस्यीय सभामा एक चौथाई भनेको ६९ जना सांसद हो ।

पदबाट हटाउनका लागि भने सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट पारित हुनुपर्छ ।

नेपाली कांग्रेसको ८८ र नेकपा एमालेको ७९ गरी १६७ पुग्छ । सत्तापक्षमै रहेको जनता समाजवादी पार्टीका ७ जना सांसद रहेका छन् । जनमत पार्टीका ६, लोकतान्त्रिक समावादी पार्टीका ४ जना सांसद छन । नागरिक उन्मुक्ति पार्टीका ४ जना रहेका छन् ।

प्रतिनिधिसभामा प्रतिपक्षमा रहेका नेकपा माओवाद केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३, नेकपा एकीकृत समाजवादीका १० जना सांसद रहेका छन् ।