काठमाडौं - उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन नेपाली कांग्रेस र नेकपा एमालेले तयारीस्वरुप छलफल थालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा यसबारे छलफल भएको बुझिएको छ ।
एमालेले पनि उपसभामुख हटाउने विषयमा पार्टीभित्र छलफल गरेको छ । यसका लागि आजै एमालेले संसदीय दलको बैठक पनि बोलाएको छ ।
उपसभामुखलाई आचरणसम्बन्धी प्रश्न उठाएर पदबाट हटाउने तयारीमा कांग्रेस र एमाले छन् । दुईतिहाइ पुर्याएर उपसभामुखलाई पदबाट हटाउने सत्तारुढ दलहरुले तयारी गरेका हुन् । उपसभामुख राना मगरले अमेरिकी दूतावासमा पत्र लेखेर भिसा अन्तर्वार्ताका लागि समय सारिदिन आग्रह गरेको पत्र सार्वजनिक भएपछि केही समयअघि उनी विवादमा तानिएकी थिइन् । त्यसबेला कांग्रेस र एमालेका कतिपय सांसदहरूले प्रतिनिधिसभामा उपसभामुखलाई नैतिकताका आधारमा पदबाट राजीनामा दिन भनेका थिए ।
प्रतिनिधिसभामा कांग्रेस र एमालेको मात्रै दुईतिहाइ पुग्दैन त्यसका लागि उनीहरूले प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीको पनि सहयोग लिने गरी छलफल अघि बढाएका छन् । एकीकृत समाजवादीका प्रतिनिधि सभामा १० सांसद छन् ।
उपसभामुख संवैधानिक परिषद् सदस्य रहने व्यवस्था छ । ६ सदस्यीय संवैधानिक परिषदमा सत्ता र प्रतिपक्षी बराबर छन् । त्यसो हुँदा निर्वाचन आयोगका प्रमुख आयुक्तलगायत संवैधानिक नियुक्ति हुन सकेको छैन ।
उपसभामुख पदमा कांग्रेसले दाबी गर्दै आएको छ । राज्य व्यवस्था तथा सुशासन समिति एमालेलाई छाडेर उपसभामुख आफूहरूले लिने कांग्रेसको तयारी छ ।
उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद भएकी हुन् । नेकपा माओवादी केन्द्र, एमाले र रास्वपालगायत दल सरकारमा हुँदा उनी उपसभामुख बनेकी थिइन् ।


0 comment