काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच खनालको डल्लुस्थित निवासमा शनिबार भेटवार्ता भएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालसँगको चर्को मनमुटाव भइरहेका बेला भएको भेटलाई महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

अध्यक्ष नेपाल र खनालबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप चलेपछि पार्टीभित्र तनाव बढेको छ। केही दिनअघि अध्यक्ष नेपालले खनाललाई “पार्टी छोडे हुन्छ” भनी टिप्पणी गरेपछि सम्बन्ध झन् चिसिएको हो।

यस्तो परिस्थितिमा नेता गौतम ‘मध्यस्थकर्ताको भूमिकामा’ सक्रिय देखिएका छन्। पार्टीमा आन्तरिक विवाद चुलिन नदिने उद्देश्यले उनले खनालसँग लामो समय छलफल गरेका हुन्।

स्रोतका अनुसार भेटमा पार्टीको वर्तमान अवस्थाबारे समीक्षा, नेताहरूबीचको विश्वास पुनःस्थापना र संगठन एकता कायम राख्ने उपायबारे कुराकानी भएको छ।

एकीकृत समाजवादी भित्र हाल देखिएको नेतृत्व विवाद र समूहगत असन्तुष्टिलाई समाधान गर्न नसकिए प्रदेश र स्थानीय तहसम्म संगठनात्मक प्रभाव कमजोर हुने विश्लेषण पार्टी भित्रै बढेको छ। यसैले गौतम–खनाल भेटलाई आगामी दिनमा पार्टीको दिशानिर्देशनमा प्रभाव पार्ने सम्भावित घटनाक्रमको रूपमा हेरिएको छ।
--