काठमाडौं - बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा समूहका सांसदहरूले सहमति कार्यान्वयन नभएको भन्दै प्रदेशसभा सदस्य पदबाट सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्। उनीहरूले तीन मन्त्री पद नदिए मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत नदिने पनि चेतावनी दिएका हुन्।

लामा समूहका अनुसार, यही साउन १७ गते कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा बानियाँले तीन मन्त्री दिने सहमति गरेका थिए। तर, मुख्यमन्त्री बनेपछि उनले लामा निकटका धादिङका गोविन्द लम्साल, चितवनकी गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्रीमा पुनः नियुक्त नगरेको आरोप लगाइएको छ।

मुख्यमन्त्री बानियाँले शुक्रबार आफ्नै पक्षका कञ्चनचन्द्र बादेललाई सचेतक र मीनकृष्ण महर्जनलाई संसदीय दलको कार्यालय सदस्य सचिवमा नियुक्त गरेका छन्। लामा समूहका सांसदहरूलाई मन्त्री पददेखि दलको जिम्मेवारीमा समेत अवसर नदिएको भन्दै उनीहरू आक्रोशित छन्।

लामाले भने, ‘मुख्यमन्त्रीले सहमति कार्यान्वयन नगरे हामीलाई पेलेर जान खोज्नु भयो। त्यस अवस्थामा हामी सांसद पदबाटै राजीनामा दिन पछि पर्दैनौं।’

बागमतीमा यसअघि कांग्रेसभित्रको विवादकै कारण सरकार परिवर्तन भएको थियो।