काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले १७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्ने कसरत भइरहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । अझै पनि माओवादीको बद्नाम गर्न १७ हजार भन्ने गरेको दाहालको भनाइ छ ।
आफूहरुले सहिदका सपना पूरा गर्न जुन स्तरबाट काम गर्नुपर्ने थियो त्यो हुन नसकेको महसुस गरेर अहिले सहिद, बेपत्ता परिवारका र आफ्नै वर्गमा फर्किएर काम सुरु गरेको उनले बताए ।
‘हामीलाई अहिले पनि बद्नाम गर्ने कसरत गरिरहेका छन् । १७ हजार तपाईं हामीले सुन्ने गर्दछौँ । हामीले हालै महान् सहिदलाई जुन स्तरबाट सम्मान गर्नुपर्थ्यो त्यसमा केही त्रुटि गर्यौं, हाम्रा सहिद परिवारका दुःख पीर, मर्का जति नजिकबाट हुर्नपर्ने थियो, त्यसमा र हाम्रा वर्ग समुदाय जसको बलमा क्रान्तिमा अघि बढेर यहाँसम्म आइपुगेका हौँ, हाम्रा विचार र राजनीतिक मुद्दामा कहीँ न कहीँ कमजोरी गर्यौँ भन्ने समीक्षा गरिएको छ,’ उनले भने ।
सहीदहरुको सम्मान गर्न आफूहरुबाट कमजोरी भएको महसस भएको पनि दाहालले जनाए । प्रतिक्रियावादी षड्यन्त्रविरुद्ध सहिदहरुका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेको उनले उल्लेख गरे । नेपालमा फेरि एकपटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिने उनको भनाइ छ ।
‘पार्टी बैठकहरुमा फेरि पनि प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध महान् सहिदहरुका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेका छौँ,’ अध्यक्ष दाहालले भने, ‘फेरि एकपटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अघि बढ्दै छौं ।’
अध्यक्ष दाहालले पार्टी विभाजन गर्न अनेक षड्यन्त्र गर्ने काम भइरहेको पनि दाबी गरे ।


0 comment