काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिस्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेको बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उनले संविधान सबैका लागि स्वीकार्य भएको र संशोधन आवश्यकताअनुसार गर्नुपर्ने धारणा राखे । राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई राख्नुपर्ने कुराबारे छलफल भइरहेको उनको भनाइ छ ।

नाममा नेपाल कम्युनिस्ट पार्टी भए पनि तल व्यवहारतः सबै पार्टीले डेमोक्रेटिक सोसलिस्ट पार्टीका रुपमा काम गरिरहेको देउवाको दाबी छ ।

‘आज संविधान सबैका लागि स्वीकार्य भएको छ । केही कुराहरु संविधान संशोधन गर्नुपर्छ भन्ने आवाज उठेका छन् । स्वभाविक कुरा हो । आवश्यकताअनुसार संविधानको संशोधन हुन्छ नै । कतिपय कुरामा अहिले राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई राख्नुपर्छ भन्ने धारणा ओलीजीको छ । त्यो हाम्रो पनि कुरा हो,’ उनले भने, ‘नाममा नेपाल कम्युनिस्ट पार्टी भए पनि तल व्यवहारतः सबै पार्टीहरु डेमोक्रेटिक सोसलिस्ट पार्टीका रुपमा काम गरिरहेका छन् । काममा डेमोक्रेटिक सोसलिस्ट भइसकेपछि आफ्नो पार्टीमा कतिपय कुरा ढाल्न गाह्रो होला उहाँहरुलाई तर विस्तारै विस्तारै ढालिसकेका छन् ।’

सभापति देउवाले कांग्रेस प्रजातान्त्रिक पार्टी भए पनि अझै तल्लो स्तरमा पुग्न नसकेको स्वीकार गरे । उनले अहिलेको संविधान राम्रो भए पनि कोहीसँग नमिली र लचिलोपन नदेखाइ बहुमत ल्याउन गाह्रो रहेको बताए ।

उनले नेपाल सानो देश भए पनि सबै पार्टीहरुको देश भएको धारणा राखे । ‘हामी अझै पनि ग्रासरुटमा बलियो भइसकेका छैनौँ । अहिलेको संविधान अत्यन्तै राम्रो छ । समावेशी छ । तर कुनै पार्टीको पनि बहुमत आउन गाह्रो छ । बहुमतका लागि कुनै न कुनै पार्टीसँग मिल्नुपर्नेछ । एक्लै हाँक्छु भनेर पनि नमिल्ने, लचिलोपन ल्याउनुपर्ने, कम्परमाइज गर्नुपर्ने आवश्यकता छ,’ सभापति देउवाले भने ।