काठमाडौं - नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार र निजी क्षेत्र नसुध्रिएसम्म मुलुकमा आर्थिक उत्पादन र रोजगारी सिर्जना गर्न नसकिने टिप्पणी गरेका छन् ।

काठमाडौं बिहीबार आयोजित एक कार्यक्रममा उनले मुलुकमा आर्थिक वृद्धि गरी रोजगारी सिर्जना गर्न सरकार र निजी क्षेत्र दुवै सुध्रिनु आवश्यक रहेको बताए । राजनीतिमा व्यक्तिवाद हाबी हुँदा जनताका समस्याहरु बढ्दै गएको उनको बुझाइ छ ।

एक-अर्कालाई समाप्त पार्न सामाजिक सञ्जालमा सक्रिय हुने तर आफूले गरेका कामहरुबारे नबोल्ने प्रवृत्तिका कारण कांग्रेसप्रति जनविश्वास घट्दै गएको पनि उनको भनाइ छ । उनले राजनीतिक विश्वसनीयता जनताप्रति गरेका प्रतिबद्धता पूरा गरेर मात्र कायम सकिने जिकिर गरे ।

‘अहिले हाम्रो राजनीतिक पार्टीमाथि पनि केही गरेन भनेर आरोप लाग्ने गरेको छ । गर्न त यति गरेको भनेर साध्य छैन । तर हामी व्यक्तिवादी भयौं,’ उनले भने, ‘एक-अर्कालाई समाप्त पार्न सामाजिक सञ्जालमा सक्रिय हुने आफूले गरेको कुरा भन्दै नभन्ने बरु अरुका कुराहरु टिपेर आफ्नै मान्छेलाई आक्रमण गर्ने यो प्रवृत्ति हामीले छोड्नुपर्छ ।’

कांग्रेसले मुलुकको विकासका लागि धेरै कामहरु गरे पनि व्यक्तिवादमा अल्झिँदा समस्या भएको उनले बताए ।