काठमाडौं - ज्येष्ठ राष्ट्रिय नागरिक महासंघले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) सँग भेट गरेको छ। महासंघका प्रतिनिधिहरुले दाहालनिवास खुमलटारमा पुगेर ज्येष्ठ नागरिकसम्बन्धी विभिन्न माग राखेको हो ।
महासंघका पदाधिकारीहरूले भेटका क्रममा यातायातमा छुट, नागरिकता नपाएका ज्येष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था तथा राष्ट्रिय सभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्नेलगायत माग राखेको दाहालको सचिवालयले जनाएको छ ।
खासगरी २५०० भन्दा बढी ज्येष्ठ नागरिक नागरिकताविहीन रहेको र यसले उनीहरूलाई राज्यका सेवाबाट वञ्चित बनाएको भन्दै यो समस्या समाधान गर्न नेतृत्व लिइदिन महासंघले अनुरोध गरेको छ ।
महासंघका माग आफूलाई गम्भीर बनाएको दाहालले प्रतिउत्तर दिएका थिए । ‘तपाईंहरूले उठाएका माग अत्यन्तै न्यायसंगत छन्,’ उनले भने, ‘म आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु । यी माग सम्बोधन गर्ने दिशामा हाम्रो पार्टीले सकारात्मक पहल गर्नेछ ।’


0 comment