काठमाडौं - कास्की जिल्लामा डेङ्गु संक्रमण तीव्र रूपमा फैलिन थालेपछि स्थानीय प्रशासन र स्वास्थ्य निकायहरू सतर्क बनेका छन्। हालसम्म जिल्लामा १८६ जना डेङ्गु संक्रमित फेला परेका छन्, जसमध्ये करिब ९५ प्रतिशत बिरामी पोखरा महानगरपालिका क्षेत्रभित्रका हुन्।
संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले ‘खोज र नष्ट’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यस अन्तर्गत अबदेखि प्रत्येक साताको शुक्रबार सरकारी कार्यालयहरूमा सरसफाइ गरिनेछ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकमा स्वास्थ्य सम्बन्धी विवरण सार्वजनिक गर्दै प्रदेश जनस्वास्थ्य प्रशासक रामबहादुर नेपालीले हाल कास्कीमा १८६ जना संक्रमित रहेको र यो संख्या अझै बढ्न सक्ने सम्भावना रहेको जानकारी दिइन् । उनका अनुसार साउनदेखि कात्तिक महिनासम्म डेङ्गु संक्रमणको उच्च जोखिम रहने हुँदा विशेष सतर्कता आवश्यक छ।
गत वर्ष कास्कीमा ९ हजार ८०० जना संक्रमित भएका थिए भने आठ जनाको मृत्यु भएको थियो। यस वर्ष देशभर ६० हजारभन्दा बढीमा संक्रमण देखिन सक्ने पूर्वानुमान स्वास्थ्य मन्त्रालयले पहिले नै सार्वजनिक गरिसकेको छ।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले पालिकास्तरमा कार्ययोजना बनाएर नागरिकस्तरमै सचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।
बैठकमा करिब ६० वटा सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।


0 comment