काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजित गर्ने प्रयास भइरहेको भन्दै पार्टीभित्रका नेता कार्यकर्तालाई सावधानी अपनाउन आग्रह गरेका छन्।
सोमबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले पार्टीभित्र र बाहिरका विभाजनकारी तत्वहरूबाट जोगिएर अघि बढ्नुपर्ने स्पष्ट पारे।
ओलीले पार्टी अहिले रुपान्तरणको चरणमा रहेको भन्दै सानातिना अन्तरविरोधमा नअल्झिन र नेता तथा कार्यकर्तालाई वैचारिक स्पष्टताका साथ गन्तव्य निर्धारण गरेर अघि बढ्न आह्वान गरेको प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।।
उनले भने, ‘पार्टीलाई वैचारिक हिसाबले गन्तव्य स्पष्ट गरेर अघि बढ्नुपर्छ। बाहिरी र भित्री तत्वले पार्टीलाई विभाजित गर्ने प्रयास गरेका छन् र त्यो प्रयास अहिले पनि हुनसक्छ। त्यसबाट जोगिएर अघि बढ्न आवश्यक छ।’ ओलीले केन्द्रीय सदस्यहरूलाई विधान संशोधनसम्बन्धी विषयमा आफ्नो धारणा खुलाएर राख्न पनि निर्देशन दिएका छन्।
यसैबीच, एमालेले १ लाख ४९ हजार पार्टी सदस्य वृद्धि भएको जनाएको छ । केन्द्रीय कमिटीको नवौं बैठकबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख गौतमले पार्टी सदस्य संख्या २८ प्रतिशतले वृद्धि भएको बताए । संगठनात्मक अवस्थालाई हेर्दा पार्टी मजबुत रहेको उनको भनाइ छ ।


0 comment