काठमाडौं - एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीसँग तीन दिनभित्र स्पष्टीकरण दिन माग गरेको छ। पार्टीको अनुशासन आयोगले सार्वजनिक रूपमा नेतृत्व पुनर्गठनको मागसहित दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै झाँक्रीलाई स्पष्टीकरण सोधेको हो।

पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार झाँक्रीले दिएको अभिव्यक्तिबारे तीन दिनभित्र लिखित जवाफ पठाउन निर्देशन दिइएको छ। ‘उहाँले जे बोल्नुभयो, त्यसमा स्पष्टीकरण सोधिएको हो,’ सचिव पाण्डेले बताए।

झाँक्रीले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाल जोडिएको दाबी गर्दै पार्टी नेतृत्वको नै पुनर्गठन आवश्यक भएको धारणा सार्वजनिक गरेकी थिइन्। त्यस क्रममा उनले सिनो बोकेर अगाडि बढ्न सकिँदैन भन्ने अभिव्यक्ति दिएकी थिइन्, जसले पार्टीभित्र गम्भीर विवाद उत्पन्न गराएको छ। उनको अभिव्यक्तिले पार्टी अनुशासनको उल्लंघन भएको ठहर गर्दै अनुशासन आयोगले औपचारिक प्रक्रिया थालेको हो।