काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएको छ।
राष्ट्रिय सभाको सोमबारको आकस्मिक समयमा माओवादी सांसद सुरेश आले मगरले गृहमन्त्री पदमै रहेसम्म मातहत निकायबाट निष्पक्ष छानबिन सम्भव नरहेको जिकिर गर्दै छानबिन सहज बनाउन राजीनामा दिनुपर्ने बताएका हुन्।
‘गृहमन्त्री इमान्दार र नैतिकवान् हुनुहुन्छ भन्ने विश्वास छ,’ सांसद आलेमगरले भने, ‘तर व्यवहार र तथ्यले त्यसको पुष्टि गर्दैन। छानबिनमा पूर्ण सहयोग गर्न गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ।’
उनले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीप्रति चिन्ता व्यक्त गर्दै अघिल्लो प्रकरणमा मुछिएका कर्मचारीहरूलाई पुनः विमानस्थल अध्यागमनजस्तो संवेदनशील जिम्मेवारी दिनु प्रश्नास्पद भएको तर्क गरे।
प्रतिनिधिसभामा संसदीय छानबिन समिति बनाउनेबारे दलहरूबीच सहमति नजिक पुगे पनि अन्तिम टुंगो नलागेको भन्दै उनले सहमति नभए गृहमन्त्री स्वयंले नै जिम्मेवारीबाट हटेर छानबिन सहज बनाउनु पर्नेमा जोड दिए।


0 comment