काठमाडौं - पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाईसीएललाई प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिहरूविरुद्ध सशक्त ढंगले उभिन निर्देशन दिएका छन्।
खुमलटारस्थित आफ्नै निवासमा सोमबार बिहान वाईसीएलको नवनिर्वाचित पदाधिकारी टोलीलाई स्वागत गर्दै अध्यक्ष दाहालले पछिल्ला दिनमा देशले प्राप्त गरेका उपलब्धिहरू उल्ट्याउने सुनियोजित प्रयास भइरहेको उल्लेख गरे।
उनले भने, ‘प्रतिक्रियावादी र प्रतिगमनकारीहरू जनयुद्ध, माओवादी आन्दोलन, युवाको योगदान र जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्न खोजिरहेका छन्। यस्ता शक्तिहरूको विरुद्ध तपाईंहरूको भूमिका निर्णायक हुनेछ। अब तपाईंहरूको टिम जनरल स्टाफ जस्तै हो। म विश्वस्त छु, तपाईंहरूले पार्टीको नेतृत्व र निर्देशनमा दृढताका साथ काम गर्नुहुनेछ।’
प्रचण्डले हालै विधान संशोधनमार्फत बनाइएको ७५ सदस्यीय पदाधिकारी टोलीलाई संगठनात्मक दृष्टिकोणले क्षमताको केन्द्रिकरण भएको भन्दै यसको सकारात्मक प्रभाव पर्ने बताए।
विधान पारित भएलगत्तै गरिएको संशोधनबारे केही आलोचना भए पनि त्यो आपसी सहमतिकै आधारमा गरिएको भन्दै उनले आलोचना नगर्न आग्रह गरे।
नवनिर्वाचित वाईसीएल टोलीलाई शुभकामना दिंदै अध्यक्ष प्रचण्डले युवा शक्ति राष्ट्रनिर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै समाज परिवर्तनको अभियानमा अग्रणी भूमिका निर्वाह गर्न आग्रह गरे।


0 comment