काठमाडौं - चीनले क्षुद्रग्रहको अध्ययन तथा नमूना सङ्कलन गर्ने उद्देश्यसहित अन्तरग्रहीय मिसन ‘तियानवेन–२’ अन्तरिक्षमा पठाएको छ। मे २९ मा प्रक्षेपण गरिएको यो यान हालसम्म ३० लाख किलोमिटरभन्दा टाढा पुगेको छ र पृथ्वीको कक्षमा सफलतापूर्वक सञ्चालनमा रहेको छ।
चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार, यो पहिलोपटक चीनले क्षुद्रग्रहबाट नमूना ल्याउने मिसन सञ्चालन गरेको हो। यानले २०१६एचओ३ नामक पृथ्वी नजिकको क्षुद्रग्रहबाट नमूना सङ्कलन गर्ने र ३११पी नामक धूमकेतुको अध्ययन गर्ने लक्ष्य राखिएको छ।
यस करिब १० वर्ष लामो अभियानमार्फत क्षुद्रग्रहको उत्पत्ति, विकासक्रम र प्रारम्भिक सौरमण्डलबारे जानकारी प्राप्त गर्ने उद्देश्य लिइएको छ। ऊर्जा आपूर्तिका लागि यानमा विशेष प्रकारका लचिलो गोलाकार सौर्य पाटा प्रयोग गरिएको छ। प्रशासनले यानको एक तस्बिर सार्वजनिक गर्दै यसको सौर्य पाटा सफलतापूर्वक खुलिएको जानकारी दिएको छ।


0 comment