काठमाडौं - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विद्यालयहरूले सीपसहितको सक्षम जनशक्ति उत्पनदनमा ध्यान दिनुपर्ने बताएका छन् ।

रत्नराज्य माध्यमिक विद्यालय नयाँ बानेश्वर काठमाडौं ६४औं वार्षिकोत्सव तथा सम्मान, प्रमाणपत्र र पुरस्कार वितरण समारोहमा उनले अहिले शैक्षिक बेरोजगारको संख्या धेरै भएकामा चिन्ता जनाउँदै अब सीपसहितको शिक्षा हुनुपर्ने धारणा राखे ।

विद्यालयबाट शैक्षिक बेरोजगार बेरोजगार उत्पादन गर्ने क्रम रोक्नुपर्नेमा जोड दिँदै सिंहले भने, ‘शैक्षिक प्रमाणपत्रसँगै सीपको प्रमाणपत्र दिएर विद्यार्थीले चाहेको लक्ष्यमा पुग्न सक्ने सक्षम बनाउनेतर्फ अब विद्यालयहरूले ध्यान दिनुपर्छ ।’ आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ मा पर्ने यस विद्यालयको भाौतिक विकासमा जनप्रतिनिधिका रूपमा आफूसहितका जनप्रतिनिधिले भूमिका खेलेको स्मरण गरे । उनले विद्यालयले ६४ वर्षको इतिहासमा पुर्याएको योगदान प्रसंशनीय रहेको बताए ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले असल जनप्रतिनिधि छाने राम्रो काम हुन्छ भन्ने उदाहरण काठमाडौं १ भएको पनि दाबी गरे । ०६४ अघि र अहिलेको अवस्था तुलना गर्न आग्रह गर्दै क्षेत्रमा विकासले गति लिएको उनको भनाइ छ । ‘झन्डा फर्फराउन । सांसद हुन जनप्रतिनिध बनेका होइनौं । देश र समाजको, जनताको सेवा गर्न राजनीतिमा लागेका हौं,’ सिंहले भने, ‘त्यसैले जनप्रतिनिधिले आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी र अन्य पूर्वाधार विकाससँगै कुनै समस्या परेको बेलामा समाधानका लागि पहल गर्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले कमजोरीको गीत गाएर मात्रै नहुने भन्दै कमजोरी औंल्याउने र भएका काम भयो पनि भन्नुपर्ने सुझाए । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र कसैको दयामायामा प्राप्त नभएको भन्दै प्राप्त उपलब्धिलाई जनता र सरकार मिलेर संस्थागत गर्नुपर्ने सिंहको भनाइ छ । उनले सरकारले अहिले नागरिकको जीवन र जीविका सहज होस् भन्ने चाहना पूरा गर्न प्रयास गरिरहेको बताए ।