काठमाडौं - प्रधानमन्त्री केपी ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।
अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा आज (मंगलबार) अन्नपूर्ण गाउँपालिकाले नारच्याङमा आयोजना गरेको समारोहमा ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम गरिरहेको दाबी गरे । ‘हिमाल आरोहणको जोखिम घटाउन सरकारले दक्ष जनशक्ति तयार र आरोहणमार्गमा आवश्यक पूर्वाधार तयार पारेका कारण सगरमाथा आरोहण गर्नेको सङ्ख्या बढेको हो,’ उनले भने, ‘अन्नपूर्णलगायत हिमालका आधार शिविर जोड्ने पदमार्ग निर्माण र स्तरोन्नतिका कार्यक्रममा पनि सरकारको ध्यान गएको छ ।’
प्रधानमन्त्री ओलीले म्याग्दी हुँदै मुस्ताङको कोरला नाका जोड्ने कालीगण्डकी ‘कोरिडोर’ को स्तरोन्नतिलाई पनि राज्यले प्रमुख प्राथमिकता दिएको बताए । कोरला नाकामा भौतिक पूर्वाधार निर्माण गर्न सरकार लागिपरेको उनको भनाइ छ । ७५ वर्षअघि फान्सका मौरिस हर्जोगको टोलीले अन्नपूर्ण आरोहण गरेर नेपालको पर्वतारोहणको सम्भावनाको ढोका खोलिदिएको स्मरण गर्दै उनले पर्वतीय पर्यटनको विकासमा शेर्पा समुदायले गरेको योगदानको प्रशंसा गरे । ‘मौरिसले लेखेको अन्नपूर्ण पुस्तकले नेपाल र यहाँका हिमाललाई विश्वमा चिनाउन योगदान गरेको छ,’ उनले भने ।
सन् १९५० जुन ३ मा आरोही हर्जोगले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण आरोहण गरेका हुन् । हीरक महोत्सव समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजालगायतको उपस्थिति थियो ।


0 comment