काठमाडौं - प्रतिनिधिसभाको आज  बिहान ११ बजेका लागि तय गरिएको बैठक अपराह्न २ बजेलाई सारिएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत मुछिएको भन्दै विपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेका बेला सहमतिको प्रयासस्वरूप बैठक केही घण्टाका लागि सारिएको हो ।

गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको आरोपमा पक्ष राख्न पाउनुपर्ने माग गर्दै पटकपटक सभामुखसमक्ष समय मागेका थिए । तर, अहिलेसम्म उनलाई सदनमा बोल्न दिइएको छैन ।

सदनको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरे सक्रिय भएका छन् । आज बिहानैदेखि उनले विपक्षी दलका प्रमुख सचेतकहरूसँग अलग-अलग र सत्ता–विपक्षी दलसँग संयुक्त बैठकसमेत गरेका छन् । बैठकमा उनले गृहमन्त्रीका कुरा पहिले सुनौं, त्यसपछि छलफल गरौं भन्ने प्रस्ताव राखेका थिए । विपक्षी दलहरूले उक्त प्रस्तावमा थप छलफल गर्ने बताएका छन् ।