काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रजातान्त्रिक संस्कार र मूल्य मान्यता स्थापित गर्न फेरि संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।
नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेश कार्यसमितिले आयोजना गरेको सम्मान एवं प्रजातन्त्र सेनानी तुलसीनारायण खमु श्रेष्ठको ‘जीवनगाथा’ नामक पुस्तक लोकार्पण गर्दै उनले प्रजातान्त्रिक संस्कारका विषयमा बोल्दा खोट देखाउन खोजिनु गलत भएको बताए ।
‘बीपी, गणेशमान र कृष्णप्रसादको आचरणलाई फेरि हामीले कांग्रेसमा पुन:स्थापना गराउनुपर्ने आवश्यकता छ,’ उनले भने । कांग्रेस सरकारमा भए पनि गलत कुराको विरोध गर्न नसके लोकतन्त्र सुरक्षित हुन नसक्ने उनको भनाइ छ ।
गलत कुराको विरोध गर्न नसक्नेहरु बीपीको अनुयायी हुन नसक्ने बताउँदै उनले गलत कुरा टुलुटुलु हेरेर बस्नेहरू दास मानसिकताको उपज भएको उल्लेख गरे । आचरण लोकतान्त्रिक गणतन्त्रात्मक नभएकैले अहिले राजावादीलगायत विभिन्न नाममा आन्दोलन भइरहेकाले लोकतान्त्रिक मूल्य-मान्यताका आचरणअनुसरण गरी यो अवस्थालाई सुधार गर्न सकिने नेता कोइरालाको भनाइ थियो ।


0 comment