काठमाडौं - लिभरपुल फुटबल क्लबको प्रिमियर लिग ट्रफी परेडका क्रममा कारले समर्थकहरूलाई ठक्कर दिँदा चार बालबालिकासहित दर्जनौं व्यक्ति घाइते भएका छन् ।
बेलायत प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति लिभरपुल क्षेत्रका ५३ वर्षका सेतो ब्रिटिश नागरिक रहेको प्रहरीले जनाएको छ । उनी नै गाडी चलाउने चालक भएको विश्वास गरिएको छ। अधिकारीहरूले यो घटना आतङ्कवादी हमला नभएको बताएका छन्। प्रहरीले घटनाको परिस्थितिबारे अनुमान नगरिदिन समेत आग्रह गरेको छ।
उत्तर पश्चिम एम्बुलेन्स सेवा एनएचएस ट्रस्टका प्रमुख डेभिड किचिनले पत्रकार सम्मेलनमा जानकारी दिँदै कुल २७ जनालाई अस्पताल लगिएको बताए। तीमध्ये एक जना बालबालिका र एक वयस्क गम्भीर रूपमा घाइते भएका छन्।
मर्सीसाइड फायर एन्ड रेस्क्यु सेवाका प्रमुख निक सियरले जानकारी दिए अनुसार चार जनामा तीन वयस्क र एक बालबालिका गाडीको तलबाट निकाल्नु परेको थियो। सामान्य चोटपटक लागेका २० जनालाई घटनास्थलमै सामान्य उपचार गरिएको थियो।
स्थानीय प्रहरीले जानकारी दिएको अनुसार सहरको केन्द्रमा गाडीले थुप्रै पैदल यात्रीहरूलाई ठक्कर दिएको थियो ।


0 comment