काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जापानी विदेशमन्त्री इवाया ताकेसीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी छन् । जापान भ्रमणमा रहेकी राणा र जापानी विदेशमन्त्री ताकेसीबीच टोकियोस्थित विदेश मन्त्रालयमा आज (बिहीबार) टोकियोमा द्विपक्षीय भेटवार्ता भएको हो ।
भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । भेटका क्रममा राणाले नेपालको आर्थिक, सामाजिकलगायत क्षेत्रमा विगत लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपालका तर्फबाट जापान सरकार र जापानी नागरिकलाई धन्यवाद दिइन् ।
उनीहरुबीच नेपाल-जापान सम्बन्धको ७० वर्षे इतिहासका विविध पक्षमा कुराकानी भएको राणाको सचिवालयले जनाएको छ । नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । दुवै देशले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउँदै छन् ।
भेटका अवसरमा परराष्ट्रमन्त्री राणाले आगामी वर्ष दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर जापानी विदेशमन्त्री ताकेसीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् । राणाले त्यस अवसरमा नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रका रुपमा स्तरोन्नति हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई सहयोगका लागि जापानसँग आग्रह पनि गरेकी थिइन् ।
उनले नेपालमा लगानीका लागि जापानी उद्योगी, व्यवसायीहरुलाई प्रोत्साहित गरिदिन विदेशमन्त्रीलाई आग्रह गर्दै नेपालमा लगानीका धेरै सम्भावना रहेको र नेपाल सरकारले वैदेशिक लगानीलाई सुरक्षा र सुनिश्चितता प्रदान गर्ने पनि जानकारी दिइन् ।
परराष्ट्रमन्त्री राणाले नेपाल-जापानबीच औपचारिक कूटनीतिक सम्बन्धभन्दा पनि सदियौँ पुरानो सम्बन्ध रही आएको प्रसंग उल्लेख गरिन् । उनले भनिन्, ‘दुई देशबीच भगवान् गौतम बुद्धको शिक्षाबाट प्रेरित प्राचीन सामाजिक-सांस्कृतिक सम्बन्ध रही आएको छ । बुद्ध जन्मस्थल लुम्बिनी नेपाल र जापानी नागरिकबीचको एक सांस्कृतिक सेतु पनि हो ।’
लुम्बिनीलगायत नेपालको प्राकृतिक सांस्कृतिक अलौकिकताको अध्ययन एवं अवलोकनका लागि नेपालमा बर्सेनि हजारौं जापानी पर्यटक आउने गरेका भन्दै राणाले आगामी दिनमा पनि पर्यटनका क्षेत्रमा दुई देशले गर्न सक्ने सहकार्यबारे पनि कुराकानी भएको थियो ।
त्यस अवसरमा राणाले नेपालले यसै साता आयोजना गरेको सगरमाथा संवादमा जापान सरकारका तर्फबाट उपविदेशमन्त्रीको नेतृत्वमा भएको सक्रिय र सिर्जनात्मक सहभागिताका लागि विशेष धन्यवाद पनि दिएकी थिइन् ।


0 comment