काठमाडौं - सांसद रामहरि खतिवडाले अवैध सुन कारोबारमा संलग्न व्यक्तिहरूलाई संरक्षण गरिएको भन्दै संसद्मा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको सोमबारको शून्य समयमा बोल्दै उनले टोखामा समातिएको सुन प्रकरणमा चालक मात्र पक्राउ परेका तर मालिक को हो भन्ने खुलासा नभएकोप्रति असन्तुष्टि जनाए। ‘चालक समातिन्छ, गाडी समातिन्छ,’उनले प्रश्न गरे, ‘तर सुनको मालिक भने कहाँ हराउँछ?’

उनले आइतबार मात्र रसुवाबाट अवैध सुन ओसारपसार हुँदै गर्दा बरामद भएको घटनालाई पनि उदाहरण दिँदै यस्ता प्रकरणमा मुख्य कारोबारीलाई सार्वजनिक गर्न माग गरे।

साथै, घरेलु कामदारको रूपमा महिलालाई धेरै पैसा लिई विदेशीने प्रवृत्ति बढेको भन्दै सांसद खतिवडाले कानुनी व्यवस्था गरेर मात्र वैदेशिक रोजगारीमा पठाउने व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।