काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका जापानका उपपरराष्ट्रमन्त्री इक्युुना आकिकोले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधाननमन्त्री निवास,बालुवाटारमा आज अपराह्न भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्नुभयो । उहाँले वर्तमानमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या सबैको चासोको विषय भएको बताउँदै सगरमाथा संवाद आयोजना गरिएको उल्लेख गर्नुभयो । संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकामा उपमन्त्री इक्युनालाई धन्यवाद दिनुभयो ।

प्रधानमन्त्री ओलीले अनुकूलन पूर्वाधार निर्माण,वातावरणीय दिगोपना र विपद् जोखिम न्यूनीकरणमा जापानी अनुभव नेपालका लागि उपयोगी हुने बताउनुभयो ।

उपमन्त्री इक्युनाले आर्थिक विकास,शिक्षा,मानव संशाधन विकास र वातावरण एवं संस्कृति संरक्षणमा जापानका तर्फबाट सहयोग निरन्तर रहने बताउनुभयो ।

त्यस अवसरमा नेपालका लागि जापानका राजदूत माइदा तोरु तथा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।