काठमाडौं - नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेस महोत्तरीले आज सदरमुकाम जलेश्वरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता साउदले वर्तमान सरकार दुई तिहाइको मजबुत भए पनि जनताले सोचे अनुसार काम गर्न नसकेको बताउनुभयो ।

नेता साउदले देशमा जनताको प्रत्यक्ष प्रतिनिधित्व रहेको संसद मार्फत विधेयक ल्याएर कानुन निर्माण गर्नु नै संविधानको मर्म अनुरुप हुने उल्लेख गर्नुभयो । 

उहाँले पार्टीभित्रको सङ्गठन सुदृढीकरण, युवा सहभागिता र सामाजिक न्यायमा आधारित समाजवादतर्फ कांग्रेसले नेतृत्व लिनुपर्ने बेला आएको बताउनुभयो ।