काठमाडौं - गृहमन्त्री रमेश लेखकले ठगी प्रकरणका फरार आरोपी जीबी राईको खोजी भइरहेको बताएका छन्। 

नेपाल पत्रकार महासंघ सप्तरीले बिहीबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले राईको ठेगाना हाल खुलाउन नसकिने बताए।

‘जीबी राईको खोजी भइरहेको छ,’ गृहमन्त्री लेखकले भने, ‘तर उनी कहाँ छन् भनेर अहिले यहीँबाट भन्न मिल्दैन।’ राईले सहकारीका हजारौँ सर्वसाधारणको पैसा लिएर फरार भएको आरोप छ।

त्यसैगरी, २०७५ सालमा कञ्चनपुरमा भएको निर्मला पन्तको बलात्कारपछि हत्या घटनाबारे प्रश्न गर्दा गृहमन्त्रीले सोधिएको विषयमा स्पष्ट जवाफ नदिए पनि अनुसन्धान निरन्तर भइरहेको बताए।

सरकार बनेको १० महिना पुगेको सन्दर्भमा उनले देशमा सकारात्मक संकेत देखा परेको दाबी गरे।  उनले कांग्रेस–एमालेबीचको सत्तारूढ गठबन्धनमा फाटो आउने चर्चा केवल हल्ला मात्रै भएको पनि स्पष्ट पारे।