काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यसँग जोडिएको अन्तर्राष्ट्रिय मञ्च भएको बताएकी छिन्। काठमाडौँमा बुधबार आयोजित कार्यशालामा उनले जलवायु परिवर्तन विश्वव्यापी समस्या भएकाले यससँग जुध्न सबै देशको सहकार्य आवश्यक भएको धारणा राखिन्।
उनले भनिन्, ‘यो साझा समस्यासँग जुध्न सबैको सामूहिक प्रयास जरुरी छ। त्यसैले सगरमाथा संवादमार्फत नेपालले साझा मञ्च निर्माणको पहल गरेको हो।’
मन्त्री डा. राणाका अनुसार हाल नेपाल तापक्रम वृद्धि, अनियमित वर्षा, हिमताल विस्फोट, खडेरी, बाढी, डढेलोजस्ता जलवायुजन्य प्रकोपको चपेटामा परेको छ। यस्ता समस्या सम्पूर्ण दक्षिण एशियाको साझा चुनौती भएकाले सगरमाथा संवादमार्फत समाधानका लागि छलफल गरिनेछ।
उनले सम्मेलन नेपालका लागि जलवायु न्यायको आवाज बुलन्द बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा सशक्त उपस्थिति जनाउने अवसर हुने जानकारी दिइन्।
नेपालले विपद् जोखिम न्यूनीकरण ऐन लागू गर्दै हरित ऊर्जा, विद्युतीय सवारी साधन, सामुदायिक वन विस्तार, जलाशय र प्राकृतिक सम्पदाको संरक्षणमा काम गरिरहेको मन्त्री राणाको भनाइ छ। साथै, नेपाल पेरिस सम्झौताको कार्यान्वयनमा पनि प्रतिवद्ध रहेको उल्लेख गरे। सगरमाथा संवाद आगामी शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ।


0 comment