काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पछिल्लोपटक सरकारको नेतृत्व गर्दा सामाजिक न्याय, सुशासन र आर्थिक सुधारका अभियानहरू सञ्चालन गर्दै गर्दा बिचौलिया र दलालहरुले सरकार ढालेको दाबी गरेका छन् ।

‘बैंक ब्याजदर घटाउने, बैंकिङ प्रणाली सुधार गर्ने, जनताको पक्षका विचौलिया दलालहरुको विपक्षीमा काम गर्दा बिचौलिया र दलालहरूलाई मन परेन, त्यसैले अपारदर्शी ढंगले रातारात सरकार ढालियो,’ माओवादी पाँचथर जिल्ला समन्वय समितिले शनिबार फिदिम बजारमा गरेको सभामा अध्यक्ष दाहालले भने ।

उनले संविधान मिचेर सरकार ढालेको दाबी गरे । उनले भने, ‘हामी पटक-पटक कांग्रेस र एमालेसँग मिल्यौं, जसका कारण हामी पनि उनीहरू जस्तै देखियौं । अब भने हामी मिल्ने छैनौं । हामी आफ्नै खुट्टामा उभिएर अघि बढ्नेछौं ।’

स्थानीय तह, स्ववियु निर्वाचन, पत्रकार महासंघलगायत पछिल्ला निर्वाचनमा माओवादी केन्द्रले उल्लेखनीय परिणाम ल्याएको जनाउँदै उनले आगामी निर्वाचनमा पार्टी एक्लै अगाडि बढ्ने र जनताको पक्षमा सुरु गरिएका कामलाई निरन्तरता दिइने दाबी गरे ।

देशका विभिन्न भौगोलिक क्षेत्रलाई आपसमा जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र देशभरका उत्तर-दक्षिण करिडोरजस्ता पूर्वाधार विकासका अभियान माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएको उनको जिकिर छ ।

भर्खरै सम्पन्न ‘जनतासँग माओवादी तराई-मधेस जागरण अभियान’ पार्टीको मात्रै नभई जनताको अभियान बनेको निष्कर्ष पार्टीले निकालेको दाहालले बताए । उनले केही दिनमै सुरु हुने औपचारिक चरण बैतडीबाट भए पनि पाँचथरको यो कार्यक्रम सोही अभियानको पूर्वसञ्चार भएको स्पष्ट पारे ।

‘मध्यपहाडी लोकमार्गको प्रस्तावक हामी हौं, यसको पूर्वी सुरुआत पाँचथरमा रहेको छ,’ उनले भने, ‘यस क्षेत्रका जनताको हितमा बनेका मध्यपहाडी लोकमार्गजस्ता पूर्वाधार अभियानहरू पनि हामीले नै सुरु गरेका हौं ।’