काठमाडौं - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमन सिंहले प्राप्त अधिकारको रक्षा गर्न सबैले संवेदनशील भएर सोच्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिले काठमाडौंका पूर्वसभापति तीर्थराम डंगोलको स्मृतिमा बिहीबार आयोजिना गरेको श्रद्धाञ्जली सभामा उनले ०४६ सालको आन्देलनपछि प्राप्त अधिकारको रक्षाका लागि सचेत हुन पनि आग्रह गरे । डंगोल प्रजातान्त्रिक मूल्य-मान्यताप्रति प्रतिबद्ध नेता रहेको भन्दै उनले प्राप्त उपलब्धि रक्षा गर्दा सच्चा श्रद्धाञ्जली हुने धारणा राखे ।
‘०१७ सालमा गुमेको अधिकार सर्वोच्च कमान्डर गणेशमान सिंहज्यूको नेतृत्वमा ०४६ सालमा पुन:स्थापित भयो । ती अधिकारहरु कसले सुरक्षित राख्ने ? तपाईं-हाम्रै काँधमा जिम्मेवारी आइपुगेको विषयमा सबैजना संवेदनशील हुनुपर्ने बेला आएको छ,’ उनले भने । ०४२ सालको सत्याग्रहका बेलामा प्रजातन्त्रको पक्षमा जनमत निर्माण गर्न, काठमाडौंमा संगठन निर्माण गर्न र जेलमा समेत डंगोल सँग-सँगै रहेको स्मरण गर्दै सिंहले डंगोलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदान महत्त्वपूर्ण भएको बताए ।
पञ्चायती व्यवस्थामा उपमेयर भएका बेलामा पार्टीको निर्देशनअनुसार तत्कालीन व्यवस्थाको निर्देशन नमानेर प्रजातान्त्रिक मूल्य-मान्यता बलियो बनाउन डंगोलले लिएको अडानले प्रजातन्त्रप्रति प्रतिबद्ध रहेको बुझिने पनि सिंहले बताए । उनले वर्तमानमा मूल्यांकन नभए पनि भविष्यले सबै लेखाजोखा गर्ने भन्दै राजनीतिक चमकधमकले नहुने भन्दै जमिनमा बसेर काम गर्नुपर्ने धारणा राखे ।


0 comment