काठमाडौं - स्वास्थ्य बिमाको नवीकरण पेमेन्ट वालेट र आईपीएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ ।

स्वास्थ्य बिमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए । नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था मिलाइएको हो ।

अब मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भएपछि सेवाग्राहीलाई सहजता हुने विश्वास बोर्डले गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हालै स्वास्थ्य बिमाको सुधारमार्फत नागरिकलाई सहज सेवा दिन प्रयास गरिरहेका छन् । जसका लागि आफू बसेको ठाउँबाट सेवा लिन सकिने तथा दर्ता गरेको तीन महिनाबाट एक महिनाभित्रै सेवा लिन सकिने गरी मन्त्री पौडेलको प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट निर्णय भएर कार्यान्वयनमा आएको छ ।

अनलाइन नवीकरण विगतमा नै निर्णय भए पनि अभ्यासमा आएको थिएन । अब नागरिकले तत्काल यो सेवाबाट नवीकरण गर्न सक्ने सूचना अधिकारी विकेश मल्लले जानकारी दिए ।

हाल एजेन्टमार्फत मात्र बिमा नवीकरण गरिने व्यवस्था छ । यसले चाहेको समयमा तत्काल नवीकरण गर्न चाहनेलाई समस्या छ । यही समस्या हटेर नवीकरणदर वृद्धि हुने अपेक्षा बोर्डले गरेको छ ।