काठमाडौं - नेकपा (एमाले) का सांसद योगेश भट्टराईले सरकारको सामान्य निर्णयलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अनावश्यक रुपमा आक्रोशित भएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले सरकारले सहसचिव स्तरका एक कर्मचारी हटाउँदा प्रचण्डलाई 'मुटुमै गोली लागेकोजस्तो' भएको प्रतिक्रिया दिएको भन्दै व्यंग्य गरे। यद्यपि उनले नाम भने उल्लेख गरेनन्, तर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको प्रसंगतर्फ संकेत गरेका थिए।
‘केपी ओली सरकारले एउटा सहसचिव हटाउँदा यति धेरै पीडा किन?,’ भन्दै उनले प्रचण्डलाई सम्झाउँदै भने, ‘यो त मुटुमै गोली लागेकोजस्तो भयो जस्तो देखिन्छ।’
भट्टराईले यो विषय प्रधान सेनापति वा मुख्य सचिव हटाएको जस्तो गम्भीर कुरा नभएको पनि बताए। ‘यस्तो निर्णय त तपाईंहरूकै सरकारमा पनि भएका थिए,’ भन्दै उनले दाहाल नेतृत्वको अघिल्लो सरकारले मुख्य सचिव हटाएको र अस्तित्वमै नभएको "राष्ट्रिय सुरक्षा सल्लाहकार" पद खडा गरेको उदाहरण पनि दिए।
भट्टराईले सरकारको मातहतका कर्मचारी व्यवस्थापन गर्ने अधिकार सरकारकै हुने भन्दै यसमा अनावश्यक राजनीति नगर्न आग्रह गरे।
साथै, उनले शिक्षक र कर्मचारीहरूलाई प्रचण्डले उक्साएको आरोपसमेत लगाए।


0 comment