काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकारको नीति तथा कार्यक्रममा प्रवासी श्रमिकहरूलाई बेवास्ता गरिएकाप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभामा उनले विदेशमा पसिना बगाइरहेका लाखौं नेपालीहरूलाई राज्यले नजरअन्दाज गरेको भन्दै प्रश्न गर्नुभयो, ‘आँसु, रगत र पसिना बगाउने प्रवासी श्रमिकहरू राज्यको नजरमा सुखी नेपाली होइनन् ?’
अहिलेको आर्थिक संरचना रेमिट्यान्समा टेकेको भए पनि विदेशमा रहेका नेपाली श्रमिकहरू नीति तथा कार्यक्रममा नसमेटिनु दुःखद भएको बताउँदै उनले सरकारको दृष्टिकोणमा गम्भीर प्रश्न उठाए ।
‘सरकारले रेमिट्यान्सको वृद्धिदर देखाएर प्रगति बाँडिरहेको छ, तर त्यो रेमिट्यान्स को पसिनाले आएको हो भन्नेबारे विचार गरिँदैन,’ दाहालले भने, ‘विदेशमा श्रम गरेर पठाएको पैसाको कदर गर्ने, उनीहरू फर्किएपछि सीपको उपयोग गर्ने योजना खै नीति तथा कार्यक्रम ?’
उनले अघिल्लो वर्ष नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको ‘रेमिट्यान्स उद्यमशीलता कार्यक्रम’ यस वर्ष किन हटाइएको भन्नेमा पनि प्रश्न उठाए । ‘एक लाख रिटर्नी नेपालीलाई उद्यममा जोड्ने कार्यक्रम नीति तथा कार्यक्रममा अटाउन नसक्नु आफैंमा दुर्भाग्यपूर्ण हो,’ उनले टिप्पणी गरे ।
अध्यक्ष दाहालका अनुसार १० महिना बितिसक्दा आफू नेतृत्वको सरकारले राखेका रिटर्नी उद्यमशीलतालगायत कार्यक्रम नचलेको मात्र होइन, यस वर्ष त शीर्षकसम्म हटाइएर प्रवासी श्रमिकलाई अपमानित बनाइएको उनले बताए । ‘वास्तवमा प्रवासी श्रमिकको योगदानलाई आत्मसात गर्ने सोच नै सरकारसँग छैन,’ उनले भने ।
उनले आग्रह गरे, ‘विदेशमा रहेका नेपालीको श्रम, सीप र बलिदानप्रति सम्मान प्रकट गर्दै तिनको अनुभव र क्षमतालाई उपयोग गर्नेतर्फ राज्य गम्भीरताका साथ अघि बढोस् ।’


0 comment