काठमाडौं - भारतको उडिसास्थित प्रतिष्ठित शिक्षण संस्था कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा अध्ययनरत अर्की नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छिन्।
बारा सिम्रौनगढ घर भएकी सो छात्रा बिहीबार साँझ केआईआईटीको ‘क्विन्स क्यासल–४’ (QC–4) छात्रावासको चौथो तलामा रहेको कोठाभित्र मृत फेला परेको नेपाली दूतावासले पुष्टि गरेको छ।
नेपाली दूतावासका अनुसार साँझ करिब साढे ७ बजे नियमित निरीक्षणको क्रममा ढोका नखोलेपछि प्रशासनले जबरजस्ती कोठा खोलेको र ती छात्रा भित्र मृत अवस्थामा भेटिएकी थिइन्। घटनाबारे प्रारम्भिक जानकारी विश्वविद्यालयको इन्टरनेसनल रिलेसन डिपार्टमेन्टमार्फत दूतावासलाई दिइएको नेपाल प्रहरीका एसएसपी सन्जिव शर्माले जनाएका छन्।
‘हाल घटनास्थल स्थानीय प्रहरीको नियन्त्रणमा छ। थप अनुसन्धान भइरहेको छ,’ शर्माले भने।
विश्वविद्यालयमै अध्ययनरत एक नेपाली विद्यार्थीका अनुसार अहिले घटनास्थलमा तीन–चार वटा प्रहरीका सवारीसाधन छन्। समर भ्याकेसन भएकाले अधिकांश विद्यार्थी घर फर्किएका छन्। मृतक बिटेक फर्स्ट इयरकै विद्यार्थी हुन्।
केआईआईटी विश्वविद्यालयमै केही महिना अघि, फागुन ४ गते, रुपन्देहीकी प्रकृति लम्साल पनि छात्रावासमै मृत फेला परेकी थिइन्। छोटो अवधिमा दुई नेपाली छात्राको मृत्युले विद्यार्थी र अभिभावकहरूमा गहिरो चिन्ता थपिएको छ।
यस घटनाको विस्तृत छानबिनको माग गरिएको छ। नेपाली दूतावासले घटनाको पछिल्लो विवरण संकलन गरिरहेको जनाएको छ।



0 comment