काठमाडौं - नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीको पक्राउसँगै जनमत पार्टी र नाउपाबीच आज हुने भनिएको पार्टी एकता घोषणा कार्यक्रम स्थगित गरिएको छ।
एकता घोषणाका लागि प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका चौधरीलाई प्रहरीले परिसरमै पक्राउ गरी डिल्लीबजार कारागार लगेको हो। उनलाई पुरानो मुद्दाअन्तर्गतको अदालतको फैसला कार्यान्वयन गर्न पक्राउ गरिएको बताइएको छ।
यस घटनापछि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले चौधरीको पक्राउप्रति तीव्र आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत भर्त्सना गरेका छन्। उनले लेखेका छन्, ‘पार्टी एकीकरणको घोषणा हुनै लाग्दा नेपाल प्रहरीले कार्यक्रमस्थलबाटै चौधरीलाई पक्राउ गरी जेल पठाएको खबर अत्यन्त दुःखद र निन्दनीय छ।’
यही विषयमा जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले चौधरीको पक्राउलाई पहिचानवादी शक्तिहरू एकजुट नहोस् भन्ने नियतले गरेको आरोप लगाएका छन्।
यस घटनाले तराई–मधेस केन्द्रित राजनीतिक गठबन्धन निर्माणको प्रयासमा तत्कालका लागि अवरोध पुर्याएको छ।


0 comment