काठमाडौं - पाकिस्तानी सेनाले नियन्त्रण रेखा (एलओसी) नजिक भारतीय क्वाडकप्टर ड्रोन खसालेको छ ।

पाकिस्तानी सरकारी सञ्चारमाध्यमहरू रेडियो पाकिस्तान र पीटीभी न्युजले सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार उक्त ड्रोनले पाकिस्तानको हवाई क्षेत्र उल्लंघन गर्दै निगरानी गर्ने प्रयास गरिरहेको बेला खसालिएको हो। घटनास्थल पाकिस्तान नियन्त्रित जम्मु तथा कश्मीरको भिम्बर जिल्लाको मनावर सेक्टरमा पर्दछ ।

यो घटना भारतको पहलगाम क्षेत्रमा भएको हालैको हमलापछि दुई मुलुकबीच बढ्दै गएको तनावको बीचमा भएको हो। हमलापछि पछिल्ला पाँच रातदेखि भारतीय र पाकिस्तानी सेनाबीच एलओसीमा निरन्तर गोलीबारी भइरहेको बताइएको छ ।

दुवै आणविक शक्ति सम्पन्न छिमेकी राष्ट्रहरूबीचको सम्बन्ध यसबीच झनै जटिल बनेको छ। पछिल्ला कूटनीतिक र सैन्य निर्णयहरूले तनावलाई थप चर्काएको देखिन्छ । भारतले सिन्धु जलसन्धि निलम्बन गर्ने घोषणा गरेको छ भने पाकिस्तानले भारतीय वायुसेवाहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरिसकेको छ। क्षेत्रीय सुरक्षामा यसले गहिरो असर पार्न सक्ने चिन्ता विज्ञहरूले व्यक्त गर्दै आएका छन् ।