काठमाडौं - राष्ट्रिय सभाका सांसद आनन्दप्रसाद ढुङ्गानाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै सांसद ढुङ्गानाले गत चैत १५ गते कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा लुटपाटमा सत्तापक्षीय दलका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनी उनले दिएको अभिव्यक्ति झुटो भएको भन्दै त्यसलाई रेकर्डबाट हटाउन माग गरेका हुन् ।
    
सांसद ढुङ्गानाले सत्तापक्ष र सहमहामन्त्रीभन्दा पनि कांग्रेस पार्टीलाई आक्षेप लगाइएकाले  प्रमाण पेस गर्न वा माफी माग्न माग गरेका हुन् । साथै उनले सांसद लिङदेनको भनाइ रेकर्डबाट हटाउन सभामुखसमक्ष माग गरे ।  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद् ढुङ्गानाले उठाएको विषयका बारेमा आफूलाई ध्यानाकर्षण भएको जानकारी दिए।