काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भन्ने सदनमा नै गलत भाष्य निर्माण गर्न खोजिएको आरोप लगाए।  शुक्रबारदेखि सुरू भएको बजेट अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राजसंस्थाको पक्षमा कुरा गर्दा लोकतन्त्रको विपक्षमा भनेर लगत भाष्य निर्माण नगर्न आग्रह समेत गरे। उनले राजसंस्था र प्रजातन्त्र दुनियाँका विकसित देशमा सँगसँगै हिँडेको स्मरण गराए।

'गलत भाष्य निर्माण गर्नु हुँदैन। राजसंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु होइन। लोकतन्त्रको विरोध गर्नु होइन। राजसंस्था र प्रजातन्त्र एक अर्काका विकल्प पनि होइनन्। अन्य मुलुकमा राजसंस्था र प्रजातन्त्र सँगसँगै छन्। कसैले राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरुद्धमा होइन,'उनले भने,'यो गलत भाष्य नलगाइयोस्। सबै राजनीतिक दललाई आग्रह गर्न चाहन्छु।'

मुलुकको शासन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। सबै राजनीतिक दलहरूबीच छलफल र सहमतिमा प्रणाली सुधार गर्नुपर्ने औंल्याए।

अध्यक्ष लिङ्देनले लोकतन्त्रको पक्ष र विपक्षमा को छ ? भन्ने कुरा व्यवहारले देखाउने बताए। उनले भने,'लोकतन्त्रको पक्ष र विपक्षीमा को छ ? भन्ने कुरा व्यवहारले देखाउने हो। लोकतन्त्रको ठूलो-ठूलो कुरा गरेर त्यो लोकतन्त्रवादी हुँदैन्।'

उनले तीनकुने घटनामा पक्राउ परेका आफ्ना नेताहरूलाई यथाशीघ्र रिहाइ गर्न माग समेत गरे।  उनले भने,'म गृहमन्त्रीसँग आग्रह गर्न चाहन्छु- तपाईहरू प्रजातन्त्रको पक्षमा हुनुहुन्छ,न्यायको पक्षमा हुनुहुन्छ भने रवीन्द्र मिश्रलगायतका मान्छेहरूलाई छोड्नुहोस्। न्यायीक आयोग गठन गरेर सत्य तथ्य बाहिर ल्याउनुहोस्।'

अध्यक्ष लिङ्देनले चैत्र १५ गते राजावादीको आन्दोलनका क्रममा भाटभटेनी सुपर मार्केटको लुटपाटमा कांग्रेस सहमहामन्त्रीका छोरा पक्राउ परेको दावी गरे। 'हामीसँग रेकर्ड छ, भाटभटेनीको लुटपाटमा तपाईंकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ पर्‍यो। तपाईले तुरून्तै छोड्नु भयो।'