काठमाडौं - आन्दोलनरत शिक्षकहरुले विद्यालयका कर्मचारीलाई समेत चाबी लिएर २४ घण्टाभित्र काठमाडौं आउन भनेपछि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
विद्यालय नै बन्द भएको अवस्थामा कसरी परीक्षा सञ्चालन गर्न सकिन्छ र सरकारले यस्तो बेलामा कस्तो किसिमले सुरक्षा प्रदान गर्न सक्छ भन्नेलगायतका बारेमा छलफल गर्न उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
शिक्षकहरुकै हड्तालकाबीच मंगलबार बिहान बोर्डको बैठक बसेर तोकिएकै मितिमा ११ बैशाखदेखि नै कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेको थियो । शिक्षकहरु परीक्षाका लागि तयार नभएर कर्मचारीबाट परीक्षा गर्ने निर्णय भएको थियो ।
यसैबीच, नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयको चाबी बोकेर २४ घण्टाभित्र काठमाडौँ आउन विद्यालयका कर्मचारीलाई निर्देशन दिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा कर्मचारी खटाएर भए पनि गर्ने निधो गरेपछि परिषद्ले विद्यालय कर्मचारीलाई चाबी बोकेर काठमाडौं आई आन्दोलनमा सहभागी हुन उर्जी जारी गरेको हो।
परिषद्का अध्यक्ष गंगाराम तिवारीले प्रेस विज्ञप्तिमार्फत आन्दोलनमा अनिवार्य रुपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध गरेका हुन् ।
बोर्डले शिक्षकहरूको आन्दोलनका बीच कक्षा १२ को परीक्षा निर्धारित मिति वैशाख ११ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको छ ।
शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु २२ दिनदेखि राजधानीमा हड्तालमा छन् । सरकारले आफ्ना मागहरु पूरा नगरेसम्म स्कुल नफर्किने अडानमा शिक्षकहरु छन् ।


0 comment