काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा गरिबी, पछौटेपन, विभेदको अन्त्य गरी आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कम्युनिस्ट पार्टीको स्थापना भएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कम्युनिस्ट पार्टीका नेताहरूको आदर्श र जीवनशैलीमा आएको विचलनका कारण अहिलेको राजनीतिमा  विकृति र विसंगति देखिएको बताए । कम्युनिस्ट पार्टीले मुलुकमा भएका निरंकुशताविरुद्धको सबै आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनले स्मरण गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिस्ट नेताहरू निष्ठावान् हुनुपर्ने जनाउँदै कम्युनिस्ट आदर्श तथा त्याग, तपस्या, बलिदानको भावनाले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्नुपर्छ भन्ने धारणा राखे ।

मुलुकमा छरिएका विभिन्न वामपन्थी शक्तिहरूलाई एकठाउँमा ल्याउन भइरहेका प्रयासको सराहना गर्दै अध्यक्ष नेपालले वैचारिक दृष्टिकोण मिल्ने पार्टीसँगै एकता तथा लोकतान्त्रिक, समाजवादीलगायत विचार समूहसँग सहकार्य गरी अग्रगमनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।