काठमाडौं - युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आश्चर्यजनक तर छोटो इस्टर युद्धविरामको घोषणा गरे पनि रुसी सेनाले गोलाबारी र आक्रमणहरू जारी राखेको बताएका छन्। 

आदेश लागू भएको केही घण्टापछि किभ र अन्य धेरै युक्रेनी क्षेत्रमा हवाई–आक्रमणका साइरन बजेका थिए। त्यसैले जेलेन्स्कीले रूसले आफूमाथिको आक्रमणहरू कायम राखेको आरोप लगाएका छन्। 

युक्रेनी सेनाध्यक्ष ओलेक्सान्डर सिरस्कीको बिहान ६ बजेको रिपोर्टलाई उद्धृत गर्दै जेलेन्स्कीले सामाजिक सञ्जालमा भनेका छन्, ‘विभिन्न फ्रन्टलाइन दिशामा रूसी गोलाबारीका ५९ वटा घटना र रूसी युनिटहरूद्वारा पाँच आक्रमण भइसकेका छन्।’

शनिबार मध्यरातसम्मको ६ घण्टामा रूसी सेनाले गोलाबारी गरेको ३ सय ८७ वटा घटना र १९ वटा आक्रमण भएको र रूसी सेनाले २ सय ९० पटक ड्रोन प्रयोग गरेको उनले बताए। 

इस्टर सप्ताहन्तमा सबै युद्ध रोक्ने पुटिनको आदेश मस्को र किभलाई युद्धविराममा सहमत गराउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महिनौंदेखिको प्रयासपछि आएको हो। 

शुक्रबार वासिङ्टनले कुनै प्रगति नभए वार्ताबाट फिर्ता हुने धम्कीसमेत दिएको थियो। वार्ता अवरुद्ध हुँदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच शान्ति सम्झौता प्राप्त गर्ने आफ्नो प्रयास त्याग्ने भन्नेमा विचार गरिरहेका जनाइएको छ। ट्रम्पले शान्ति सम्झौता सम्भव नहुने देखेपछि आफ्नो प्रशासनलाई वार्ताबाट बाहिरिन निर्देशन दिन सक्ने जनाइएको हो।