काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारका गलत काम कारबाहीका कारण प्रतिगामी शक्तिहरूले षड्यन्त्र गर्न खोजेको बताएका छन्।

काठमाडौंमा शुक्रबार  आयोजित नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय राजतन्त्र फर्काउने प्रयासस्वरूप भइरहेका गतिविधिहरूप्रति संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन्।

‘माओवादी केन्द्रले तपाईंहरूको साथ छाड्ने छैन,’उनले भने, ‘अहिले प्रतिगामी षड्यन्त्र देखा पर्न खोजेको छ। अहिलेको सरकारका गलत कामका कारण धमिलो पानीमा माछा मार्ने दुस्साहस गरिएको छ। तर त्यो सफल हुने छैन।’

उनले सम्मेलनमार्फत देशभरिका नेवार समुदायलाई संगठित गर्दै सरकारका गलत क्रियाकलापप्रति खबरदारी गरिएको उल्लेख गरे।