काठमाडौं - नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएका छन् । आन्दोलनरत शिक्षकका अगुवाहरूसँग भएको छलफलमा महामन्त्रीद्वयले यस्तो आश्वासन दिएका दिएका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरे लगत्तै उनीहरुले साँझ शिक्षक आन्दोलनका अगुवाहरुसँग पनि सामूहिक छलफल गरेका हुन् ।
शिक्षक महासंघले सोमबार नै थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विद्यालय बन्द गर्ने र कक्षा १२ को परीक्षामा सहभागी नहुने महासंघले निर्णय गरेको छ। कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदै छ ।
सरकारले भर्ना अभियान घोषणा गरिरहँदा आन्दोलनमा रहेको शिक्षक महासंघले विद्यालय बन्द गर्ने निर्णयपछि पठनपाठन अस्तव्यस्त हुने देखिएको छ।
आन्दोलनका कारण विद्यालय भर्ना अभियानसमेत प्रभावित हुने देखिएको छ । विगतमा सरकारसँग भएको सम्झौताअनुसार शिक्षा ऐन तत्काल जारी हुनुपर्ने उनीहरूको माग छ । शिक्षकहरु दुई सातादेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । ऐन जारी नभएसम्म विद्यालय नफर्किने अडानसहित गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।


0 comment