काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित नेपाली जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु हामी सबैको साझा दायित्व भएको बताएका छन् ।
‘पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड हो । आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्नु राज्यको प्राथमिक दायित्व हो । रोजगारीका अवसर सिर्जना, लगानीयोग्य वातावरण निर्माण, उत्पादनको लागत घटाएर प्रतिस्पर्धा प्रवर्धन गरी औधोगिकरणलाई बढावा दिनु पनि उत्तिकै जरुरी छ,’ उनले नगरकोट भ्रमण वर्ष २०८२ को शुभारम्भ समारोहमा भने, ‘न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिदैं नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित नेपाली जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु हामी सबैको साझा दायित्व हो ।’
राष्ट्रपति पौडेलले सांस्कृतिक, ऐतिहासिक, धार्मिक धरोहरलाई आर्थिक विकासमा रुपान्तरण गर्न पूर्वाधारको विकास र कौशल बढाउनुपर्ने र यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति, सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवर्धन गरी पर्यटन क्षेत्रलाई आय-आर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना रहेको पनि उल्लेख गरे । उनले भने, ‘पर्यटकीय उपजहरूको व्यावसायीकरण गरी यसबाट प्राप्त लाभको समन्यायिक वितरण सुनिश्चित गर्न आवश्यक छ । पर्यटकीय वस्तुको विकास, बजारीकरण र सहज पहुँचको व्यवस्था गरी नेपाललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्दछ ।’
राष्ट्रपति पौडेलले काठमाडौंको उकुसुमुकसबाट उम्केर प्रकृतिमय क्षण व्यतित गर्ने उत्कट चाहना राख्नेहरूका लागि नगरकोट नजिकको रोजाइस्थल भएको र यो संस्कृति, प्रकृति, इतिहास र भौगोलिक आकर्षणका लागि पनि गौरव र शान भएको उल्लेख गरे । उनले यसबाट देश-विदेशमा चिनाउन र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न योगदान भएको पनि बताए । ‘यसलाई अझै विकसित, आधुनिक र सुविधासम्पन्न बनाउन स्थानीय बासिन्दा, उद्यमी, पयर्यटन व्यवसायीसहित संघ, प्रदेश सरकार र विशेषत यहाँका चारैवटा नगरपालिकाको सहकार्य बढी अपेक्षित रहेको मैले ठानेको छु,’ उनले भने ।
राष्ट्रपति पौडेलले उत्तरतर्फका सुन्दर हिमशृंखला, सूर्योदय र सूर्यास्त एवं सुन्दर काठमाडौं उपत्यका अवलोकनका लागि स्वदेशी-विदेशी पर्यटकबीच नगरकोटको महिमा अधिक रहेको उल्लेख गर्दै यसको निकटमा अवस्थित् विश्व सम्पदा सूचिमा सूचीकृत चाँगुनारायण मन्दिर, पौराणिक प्रसंग जोडिएको महादेव पोखरी, मन्जुश्री गुफा, ऐतिहासिक भँगेरी र पुतली दरबार, शंखरापुर नगरपालिकाको प्रसिद्ध शालीनदी तथा बज्रयोगिनी माईको मन्दिर र साँखु बजारको ऐतिहासिक, पुरातात्त्विक सम्पदासँगै यसलाई केन्द्रमा राखेर विस्तार हुँदै गएको पदयात्रा मार्गले यहाँको पर्यटकीय गतिविधिलाई बढाएको पनि बताए ।
नगरकोटलाई मूल विन्दु बनाएर चारवटै नगरपालिकाले आ-आफ्नो क्षेत्रका सम्पदा एवं ऐतिहासिकस्थलको प्रवर्धन गर्न अगाडि बढ्नु प्रशंसनीय रहेको उल्लेख गर्दै उनले पर्यटन पूर्वाधारको विस्तार र सहज आवागमनको लागि सडकको स्तरोन्नति गर्नेतर्फ ध्यान दिन जरुरी रहेको बताए । उनले नगरकोट भ्रमण वर्ष घोषणा विकासको प्रमुख आधारशीला पर्यटन क्षेत्रले यसबाट लाभ लिएर मुलुकको आर्थिक समृद्धिमा योगदान दिने विश्वास पनि व्यक्त गरे ।
राष्ट्रपति पौडेलले नयाँ वर्ष २०८२ को अवसरमा जनताको चाहनाअनुरुप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित राष्ट्र निर्माणको अभियानमाा जुट्न यो दिनले हामी सबैलाई प्रेरणा देओस् भन्ने कामना पनि गरे ।


0 comment